Category Archives: Uncategorized

अनलाइन फारम स्वचालित रूपमा भर्नुपर्‍यो ? अपनाउनुहोस् यो स्मार्ट तरिका

अनलाइन फारम स्वचालित रूपमा भर्नुपर्‍यो ? अपनाउनुहोस् यो स्मार्ट तरिका

इन्टरनेटमा क्रोम सर्वाधिक बढी प्रयोग हुने ब्राउजर हो । विशेषगरी कुनै पनि वेबसाइट खोल्ने, त्यसमा नयाँ अकाउन्ट बनाउने, विभिन्न विवरण राखेर फारम भर्ने जस्ता काम क्राेमबाट गरिरहेका हुन्छौँ ।

हामीलाई एउटै विवरण धेरै पटक भरिरहँदा दिक्दार लागेको हुनसक्छ । आज हामी बारम्बार राखिरहनु पर्ने त्यस्ता विवरण स्वतः कसरी राख्न सकिन्छ भन्ने विषयमा जानकारी दिँदै छौँ ।

Continue reading अनलाइन फारम स्वचालित रूपमा भर्नुपर्‍यो ? अपनाउनुहोस् यो स्मार्ट तरिका

एक क्विन्टल कफी उत्पादन गर्दा रु दुई हजार अनुदान दिने

इलामको पश्चिमी गाउँपालिका माङ्सेबुङले कृषि उत्पादन अभिवृद्धिका लागि अनुदान दिन थालेपछि स्थानीय कृषक हर्षित भएका छन् ।

माङ्सेबुङ वडा नं १ का कृषक देवीप्रसाद अधिकारीले एक क्विन्टल कफी उत्पादन गर्दा पालिकाले रु दुई हजार अनुदान दिने गरेको बताउनुभयो । पछिल्लो समय कफी खेतीको पकेट क्षेत्रका रूपमा विकास भइरहेको माङ्सेबुङमा अनुदान पाउन थालेपछि परम्परागत धान, मकै, कोदो, फापर बाली लगाइरहेका किसान अब कफी खेतीमा आकर्षित भएका छन् ।

उहाँले माङ्सेबुङ–१ मा घरैपिच्छे कफी खेती गरिएको जनाउँदै प्रतिक्विन्टल रु १० हजारका दरले पाकेका कफीका दाना गाउँमै बिक्री हुने गरेको र त्यसमा पालिकाले रु दुई हजार अनुदान थपिदिने गरेको बताउनुभयो ।

माङ्सेबुङ–१ का वडाध्यक्ष भुपाल योङहाङले कृषि उत्पादन वृद्धि गर्न हौसला होस् भनेर गाउँपालिकाले दूध, दाल, बाँस, स्कुस, केरालगायतका बालीमा पनि कृषकले सोझै पाउने गरी अनुदानको व्यवस्था गरिएको जानकारी दिनुभयो ।

उहाँका अनुसार किसानले कालो र पहेँलो दालमा प्रतिकेजी रु एक सय, दूध प्रतिलिटर रु दुई, माली बाँस प्रतिझ्याङ रु एक सय, स्कुस प्रतिझ्याङ रु एक हजार र केरा प्रतिझ्याङ रु एक सय अनुदान पाउने गरेका छन् । गाउँपालिकाले चालु आर्थिक वर्षको बजेटमा कृषि उत्पादनमा अनुदान दिनका लागि रु १६ लाख रकम छुट्याएको उहाँले बताउनुभयो ।

“इलामको दुर्गम क्षेत्र भएकाले यहाँ बाटोघाटो र अरु पूर्वाधारको त्यति राम्रो विकास भइसकेको छैन”, वडाध्यक्ष योङहाङ भन्नुभयो, “किसानले फलाएको बालीले उचित बजार नपाउँदा झन् समस्या हुने भएकाले पालिकाले अनुदान दिएर भए पनि किसानलाई प्रोत्साहित गर्ने नीति लिएको हो ।”

Continue reading एक क्विन्टल कफी उत्पादन गर्दा रु दुई हजार अनुदान दिने

आउँदो महिनादेखि युट्युब शर्ट्सबाट पैसा कमाउन सकिने

आउँदो महिनादेखि युट्युब शर्ट्सबाट पैसा कमाउन सकिने

आउँदो महिनादेखि युट्युब शर्ट्सबाट पैसा कमाउन सकिने

युट्युबले आउँदो फ्रब्रुअरी १ देखि शर्टस् प्रयोगकर्ता अर्थात् भिडियो क्रियटरलाई विज्ञापनबाट आउने आम्दानी शेयर गर्ने भएको छ । लामो समयदेखि युट्युब प्रयोगकर्तालाई यो सेवा उपलब्ध गराउँदै आएको कम्पनीले अब शर्ट्स प्रयोगकर्तालाई पनि प्रतिफल बाँड्ने भएकाे हाे ।

यसका लागि कम्पनीले आम्दानीसाझेदारी कार्यक्रम ल्याउने तयारी गरेकाे छ । यसअन्तर्गत क्रियटरले आफ्नो शर्ट्समा आएको भ्युज तथा विज्ञापनका आधारमा रकम प्राप्त गर्नेछन् । त्यसका लागि कम्पनीले साझेदार कार्यक्रमको शर्तहरु उपलब्ध गराउने छ ।

उक्त शर्त जुलाई १० सम्म पालना गरिसक्नुपर्ने जनाइएको छ । शर्त पालन गर्ने क्रियटरको हकमा मात्रै यो साझेदार कार्यक्रम लागू हुने छ ।

यसअघि नै तय भएअनुरुप कम्तीमा एक हजार फलोअर भएका र ९० दिनको अवधिमा शर्ट्समा एक करोडभन्दा बढी भ्युज भएका क्रियटरले यस कार्यक्रमका लागि आवेदन दिनसक्ने जनाइएको छ । यति भएपछि उनीहरूले नयाँ ‘शर्ट्स मनिटाइजेसन मोड्युल’ लाई पालना गरेको हुनुपर्ने छ ।

Continue reading आउँदो महिनादेखि युट्युब शर्ट्सबाट पैसा कमाउन सकिने

चकलेटदेखि पकाएको हड्डीसम्म : कुकुरका लागि विषाक्त हुन्छन् यी खानेकुरा

हाम्रा बालबालिकालाई चकलेट मनपर्छ । उनीहरुले मीठो मान्ने चकलेट पशुपंक्षीलाई पनि मीठो लाग्न सक्छ भन्ने लाग्छ । तर चकलेट उनीहरुका लागि विषसमान हुन्छ । खासगरी कुकुरका लागि ।

अहिले घरघरमा कुकुर पाल्ने चलन बढेको छ । कुकुर पाले पनि त्यसलाई कसरी स्याहारसुसार गर्ने, कस्तो खानपान गराउने भन्ने कुरामा धेरैजसो अनभिज्ञ छन् । त्यसैले उनीहरु आफूलाई जे स्वाद लाग्छ, त्यही कुरा आफ्ना कुकुरलाई खुवाउने गर्छन् ।

तर मान्छेलाई मीठो लाग्ने धेरैजसो खानेकुरा कुकुरका लागि विषालु हुन्छ । घरपालुवाको मात्र कुरा होइन, सडकका कुकुरलाई पनि त्यस्ता खानेकुरा सम्भव भएसम्म दिनुहुँदैन । हुन त सडक कुकुरको कुरा गर्दा खानै नपाएका स्थिति धेरै छ । फोहोरमा उँधिनेर खानेकुरा खोज्नुपर्ने उनीहरुको बाध्यता छ । यस्तो स्थितिमा सडक कुकुरलाई यो दिनुहुन्छ, यो दिनुहुन्न भन्ने कुरा कतिका लागि हास्यास्पद पनि लाग्न सक्छ ।

तर यस्ता मनकारी पनि यहाँ धेरै छन् जो सडक कुकुरका पनि खानेकुरा बचाएर राख्ने गर्छन् । उनीहरुले के कुरामा चाहिं ध्यान दिनुपर्छ भने हामीले खाइरहेका कतिपय खानेकुरा कुकुरले पचाउन सक्दैनन् । त्यस्ता खानपानले उनीहरु रोगी हुन्छ ।

जस्तो हामीलाई मसालेदार खानेकुरा स्वाद लाग्छ । मासु, तरकारी तारेको वा मसला मिसाएको मनपर्छ । यस्तो खानेकुरा कुकुरलाई विष बराबर हुन्छ ।

पाकेको हड्डी

कतिपयले हेयभावले कुकुरलाई गाली गर्दा ‘हड्डीमा लुछाचुँडी गर्ने जात’ पनि भन्ने गर्छन् । त्यसैले मान्छेलाई के लाग्छ भने कुकुरका लागि हड्डी उपयुक्त खुराक हो ।

मान्छेले मासु खाँदा बाँकी रहेको हड्डी, छाला आदि कुकुरलाई दिने गर्छन् । यस्तो खानेकुरा कुकुरका लागि निकै हानिकारक हुन्छ ।

चिल्लो तथा घिउ

घिउ पोषिलो र स्वादिलो खानेकुरा हो । खानामा थोरै घिउ मिसाएपछि स्वाद दोब्बर हुन्छ । तर यस्तो स्वाद मान्छेका लागि हो कुकुरका लागि भने घिउ राम्रो मानिंदैन । बोसो, तारेको वा भुटेको, घिउ मिसाएको खानेकुरा कुकुरका लागि एकदमै हानिकारक हुन्छ ।

अंगुर–सुन्तला

फलफूल मान्छेका लागि स्वस्थ्यवद्र्धक मानिन्छ । स्वस्थ जीवनका लागि फलफूल खानु अनिवार्य नै हो भनिन्छ । तर कुकुरलाई धेरैजसो फलफूल विषसमान हुन्छ । अंगुर त कुकुरलाई दिनै हुन्न । यसैगरी मौसमी सुन्तला, एभोकार्डो पनि कुकुरलाई हानि गर्ने फलफूल हुन् । कुकुरलाई स्याउ, खर्बुजा मात्र उचित हुन्छ ।

चकलेट

मान्छेले माया गरेर कुकुरलाई चकलेट दिने गर्छन् । चकलेट हामीलाई मीठो लाग्छ तर कुकुरलाई होइन । कुकुरका लागि चकलेट विषालु खाना हो ।

जुठो भात

अक्सर मान्छेले कुकुरलाई जुठो भात दिने गर्छन् । तर मान्छेले आफ्नो स्वादअनुसार मसालेदार, चिल्लो, पीरो खानेकुरा खाएका हुन्छन् । यस्तो खानेकुरा बाँकी रहेपछि कुकुरलाई दिइने गरिन्छ, जो कुकुरका लागि हानिकारक हुन्छ ।

कस्तो खानेकुरा दिने ?

कुकुरको लागि मासु नै राम्रो खुराक हो । ताजा मासु उसिनेर दिनु राम्रो हुन्छ । त्यसैगरी उसिनेको अण्डा, सिमी, फर्सी, साग लगायत उपयुक्त हुन्छ । कुकुरलाई नुन, तेल दिनु हुन्न । यद्यपि स्वादका लागि एक चिम्टी नुन दिएमा त्यस्तो हानि गर्दैन ।

कुकुरलाई दिइने खानेकुरा उसिनेको हुनुपर्छ । तारेको, पोलेको खानेकुरा राम्रो मानिंदैन । मान्छेलाई जस्तो कुकुरलाई पनि सन्तुलन मिलाएर खुवाउनुपर्छ । सम्भव भएसम्म बिहान र साँझको छाक फरक-फरक खाना दिनु राम्रो हुन्छ ।

चिकित्सक भन्छन्- मधुमेहमा रोटी खानुपर्छ, भात खानुहुन्न भन्ने भ्रम हो

चिकित्सक भन्छन्- मधुमेहमा रोटी खानुपर्छ, भात खानुहुन्न भन्ने भ्रम हो

मधुमेहको समस्या भएकै कारण आफूलाई खान मन लागेका खाना नखाएरै बस्नेको संख्या धेरै छ । मधुमेह र्भपछि केही खान मिल्दैन भन्ने धेरैको सोच रहेको पाइन्छ । यति मात्र होइन, मधुमेह रोगका बारेमा आम मानिसमा अन्य धेरै किसिमका भ्रम छन् ।

बदलिंदो जीवनशैली र खानपानमा परिवर्तनका कारण मधुमेहको समस्या बढिरहेको चिकित्सकहरू बताउँछन् । मधुमेह भएकाले चामल र आलु खानै हुन्न भनेको पनि हामीले सुन्ने गर्छौं । तर यो सत्य नभएको थाइराइड, सुगर तथा हर्मोन विशेषज्ञ डा. बजरंगकुमार रौनियार बताउँछन् ।

‘मधुमेह भएकाले खानपानमा क्यालोरीलाई ध्यान दिनुपर्छ, हाई क्यालोरी भएको खाना कम खानु पर्छ । त्यसैले चामल, आलु, तारेको खानेकुरा कम खानु राम्रो हुन्छ,’ उनी भन्छन् ।

सेतो चामलमा कार्बोहाइड्रेट तथा ग्लाइसेमिक सूचांकको उच्च मात्रा समावेश भएको हुन्छ । जसले चिनीको मात्रालाई अझ बढावा दिने काम गर्छ । तसर्थ मधुमेहका बिरामीले कम मात्रामा चामलको भात खानुपर्छ तर खानै हुन्न भन्नु भ्रम मात्र भएको रौनियार बताउँछन् ।

‘मधुमेहका बिरामीले आलु खानु हुँदैन भन्ने पनि भ्रम रहेको छ । जबकि मधुमेहका बिरामीले आलु नै खान नहुने भन्ने हुँदैन । उचित मात्रामा तथा थोरै थोरै खाएमा आलुले पनि मधुमेहलाई खासै समस्या पार्दैन,’ उनी भन्छन्, ‘हिजोसम्म दुईवटा आलु एकैपटकमा खाइन्थ्यो भने आज पटक-पटक गरी दुईवटा आलु सेवन गर्नुपर्छ । आलु खाएको दिन भात अलि कम खानुपर्छ र क्यालोरीको मात्रा मिलाउनुपर्छ ।’

खानपानमा बढी कटौती गर्नुपर्छ ?

मधुमेह भएकाहरूले खानपानमा कटौती गर्नु राम्रो हो । खानपानमा कटौती त एउटा स्वास्थ्य व्यक्तिले पनि गर्नुपर्छ । दैनिक शरीरलाई कति क्यालोरी आवश्यक पर्छ त्यही अनुसार खायो भने त मधुमेह, उच्च रक्तचाप लगायतका अन्य रोग लाग्नबाट नै बच्न सकिने रौनियारले बताए ।

उनी भन्छन्, ‘सामान्यतया एउटा स्वास्थ मानिसलाई २४ घण्टामा १८ सयदेखि २ हजार क्यालोरी जरुरी हुन्छ । कडा परिश्रम गर्ने व्यक्तिलाई धेरै क्यालोरी जरुरी हुन सक्छ । त्यसैले क्यालोरी बढी हुने खानेकुराजस्तै तारेको भुटेको खानेकुरा, कोल्ड ड्रिक, रातो मासु एकदमै कम खाएको राम्रो हो ।’

खानपानमा कटौती गरेर मोटोपना कम गर्दा मधुमेहबाट हुन सक्ने अन्य जोखिमलाई कम गर्न सकिन्छ । त्यसैले मधुमेहको समस्या भएकाले त खाना कटौती गर्नु नै पर्छ । मधुमेह नियन्त्रणमा छैन धेरै बढेको छ भने त खानपानमा झन् बढी कटौती गर्नुपर्ने डा. रौनियार सुझाउँछन् ।

मधुमेहका समस्या भएका अधिकांशले चामल वा भात छाडेर रोटी खाने गर्छन् । खानामा कार्बोहाइड्रेटको मात्रा कम गर्ने हो । भात र रोटीमा लगभग उत्ति नै सुगर हुन्छ, यसले मधुमेह नियन्त्रण गर्न सहयोग गर्ने होइन ।

‘भात, रोटी, ढिंडो जे खाए पनि मात्रा मिलाएर थोरै खानुपर्छ । भात नखाने तर एक छाकमा ५-६ वटा रोटी खाँदा मधुमेह नियन्त्रण हुनुको साटो बढ्छ । त्यसैले जे खाए पनि क्यालोरी मापन गरेर खानुपर्छ,’ रौनियार भन्छन् ।

मधुमेह हुँदा गुलियो खानेकुरा खानै हुन्न ?

मधुमेहले ग्रस्त भइसकेपछिको अवस्थामा गुलियो खानेकुरा सेवन गर्दा सुगर अनियन्त्रित हुन्छ । त्यसैले मधुमेहको समस्या भएकाले बढी गुलियो प्रयोग भएको मिठाई नखानु राम्रो हुने उनी सुझाउँछन् । ‘मिठाई छुनै नहुने होइन मधुमेह नियन्त्रणमा छ भने कहिलेकाहीं एउटा मिठाई खाँदा खासै फरक पर्दैन,’ उनी भन्छन् ।

चिनीको सेवन भनेको जिब्रोको स्वाद बढाउन हो, शरीरमा यसले कुनै फाइदा गर्दैन । यसले त उल्टो शरीरमा क्यालोरी बढाउँछ, त्यसैले चिनी हालेको चिया मधुमेह भएकाहरूले सकेसम्म नखाएकै राम्रो हो । तर चिनी हालेको चिया खानै नहुने भने होइन । कहिलेकाहीं चिनी राखेका चिया एक कप खाइयो भने क्यालोरी कम भएको सलाद, तरकारी खाएर क्यालोरीलाई सन्तुलनमा राख्नुपर्ने रौनियार बताउँछन् ।

‘मधुमेह भएकाले धेरै गुलिया आँप, भुइँकटहरजस्ता फलफूल एकदमै कम खानु राम्रो हो । तर लगभग धेरै फलफूल खान मिल्छ । स्याउ, सुन्तलाजस्ता फलफूल दैनिक एउटा खान मिल्छ,’ उनी भन्छन् ।

मधुमेह हुँदा घाउ-चोट निको हुँदैन र ?

शरीरमा ब्लड सुगर नियन्त्रणमा छ भने घाउ-चोट लाग्यो भने पनि निको हुन्छ । तर शरीरमा ब्लड सुगरको मात्रा धेरै छ भने घाउ वा चोटपटक चाँडै निको हुँदैन । बरु उल्टै संक्रमणको जोखिम हुने रौनियार बताउँछन् ।

‘ब्लड सुगरले रक्तसञ्चार र रोग प्रतिरोध क्षमतामा नकारात्मक असर पार्न सक्छ । जसले गर्दा घाउ-चोट छिटो निको नहुने समस्या हुन्छ,’ उनी भन्छन् ।

मधुमेहका बिरामीलाई कुनै कारणवश शल्यक्रिया गर्नुपर्ने भएमा जटिल हुन्छ पनि भनिन्छ तर मधुमेह नियन्त्रणमा छ भने खासै जटिलता हुँदैन । मधुमेह नियन्त्रणमा छैन भने कुनै शल्यक्रिया गर्दा घाउमा संक्रमण हुने सम्भावना हुन्छ । सुगर लेबल एकदमै बढी छ भने त्यो संक्रमण शरीरमा फैलिएर अन्य स्वास्थ्य समस्या पनि निम्तन सक्ने उनी बताउँछन् ।

मधुमेहको औषधि सुरु गरेपछि आजीवन खानैपर्छ भन्ने भ्रम छ । सबै मधुमेहमा आजीवन औषधि खानुपर्ने नहुने पनि हुन सक्छ । ‘टाइप वान’ मधुमेहमा शरीरमा इन्सुलिन बन्दै बनेन भने जीवनभर इन्सुलिन दिनुपर्ने रौनियार बताउँछन् ।

खराब जीवनशैलीको कारण ‘टाइप टु मधुमेह’को समस्या छ भने जीवनशैली सुधारेर शरीरमा सुगर लेबल नियन्त्रण गर्नुपर्छ । यसपछि औषधि कम गर्ने र छोड्न समेत मिल्ने रौनियार बताउँछन् ।

फिल्म हेरेर सबै बुझ्छन्, कक्षामा पढेको किन सहजै बुझ्दैनन् बालबालिका ?

फिल्म हेरेर सबै बुझ्छन्, कक्षामा पढेको किन सहजै बुझ्दैनन् बालबालिका ?

झट्ट सुन्दा उट्पट्याङ जस्तो लाग्छ, तर यो गहिरो कुरा छ ।

बालबच्चाले दुई घण्टाको फिल्म हेरेर सबै कुरा हुबहु बुझ्न सक्छन् । कथा, घटनाक्रम, दृश्य, संवाद, कलाकारको हाउभाउ उनीहरुले याद गर्न सक्छन् । फिल्मको कथा कस्तो थियो ? हिरो–हिरोइन कस्ता थिए ? उनीहरु नबिराई भनिदिन सक्छन् ।

तर कक्षाकोठामा पढेको पाठ नि ?

बालबच्चाले कक्षाकोठामा औसत सात घण्टा बिताउँछन् । त्यस अवधिमा उनीहरुलाई विभिन्न पाठ पढाइन्छ । त्यसरी पढेका र पढाइएका पाठ उनीहरुले सरसर्ती बुझ्न सक्दैनन् । पढेकामध्ये थोरै कुरा मात्र उनीहरुले ग्रहण गर्छन् । त्यसैले त दिनभर पढाइका कुरा पुनः स्मरण गरोस् भनेर गृहकार्य दिने गरिन्छ ।

फिल्मका दृश्यहरु झैं पाठ्यक्रमका अक्षरहरु किन छिचोल्न सक्दैनन् बालबच्चाले ?

तपाईंलाई लाग्दो हो, फिल्म भनेको मनोरञ्जन हो । मनोरञ्जन गर्नु र पाठ पढ्नु अलग कुरा हो । तर मूल कारण त्यसो होइन ।

फिल्ममा कुनै कथा हुन्छ र त्यसलाई प्रस्तुत गर्ने श्रव्यदृश्यको माध्यम अपनाइएको हुन्छ । त्यहाँ घटना, संवाद, पात्र, हाउभाउ, ध्वनि सबै कुरा हुन्छ । यसलाई दृश्यभाषा पनि भनिन्छ । दृश्यभाषालाई हाम्रो मस्तिष्कले सहजै ग्रहण गर्छ ।

तर हाम्रो पठन विधि पुरातन ढर्राको छ । पाठ्यपुस्तकको अक्षरहरु घोकाउने वा शिक्षकले एकोहोरो पाठ पढाउने प्रवृत्ति छ । यस्तो अवस्थामा बालबच्चाले पाठ्यपुस्तक पढेर वा शिक्षकको कुरा सुनेर कुनै कुरा याद गर्नुपर्ने हुन्छ । त्यसैले कक्षाकोठामा कुनै शिक्षकले पाठ पढाउँदा त्यसको आशय अनुसार आफ्नो आवाजमा उतारचढाव ल्याउने, हाउभाउ देखाउने र सदृश्य प्रस्तुत गर्ने हो भने बालबच्चाले सो कुरा सहजै ग्रहण गर्न सक्छन् । मनन गर्न सक्छन् । मन्थन गर्न सक्छन् ।

सिकाउने सही तरिका

सबै बालबालिकाले एउटै तरिकाले सिक्छन् भन्ने हुँदैन । उसको सिक्ने तरिका के हो थाहा पाएर त्यही तरिका अनुसार सिकायो भने उसले त्यो कुरा छिटो सिक्छ । कोही बच्चा ‘अडियोटरी’ अर्थात् सुनेर सिक्ने हुन्छ, कुनै बच्चा ‘भिजुअल’ अर्थात् देखेर सिक्ने हुन्छ भने कुनै ‘काइनेस्थेटिक’ अर्थात् हाउभाउले सिक्ने हुन्छ ।

आफ्नो बच्चा कस्तो छ भनेर कसरी थाहा पाउने भन्ने तनाव अभिभावकलाई हुन सक्छ । त्यस्तोमा कुनै बच्चालाई जाऊ चिया बनाएर ल्याऊ भनेर अह्राउनुभयो । ग्याँस बाल, त्यसपछि पानी राख, चिनी, चियापत्ती राख भनेर पठाउनुभयो र उसले चिया बनाएर ल्यायो भने ऊ ‘अडियोटरी’ हो । उसले सुनेर नै बुझ्छ ।

बच्चालाई भनेर मात्र हुँदैन उसले तपाईंले एक पटक बनाएर देखाउनुस् अनि म बनाउँछु भन्यो भने उ ‘भिजुअल’ हो । बच्चाले म बनाउँछु, तपाईं नजिक बसेर सिकाउनु सँगै बनाऊँ भन्छ भने ऊ ‘काइनेस्थेटिक’ हो ।

शिक्षकले पनि बच्चा जुन शैलीको हो त्यो थाहा पाएर त्यही अनुसार उसलाई पढाउनुपर्छ । यदि बच्चा ‘भिजुअल’ हो उसलाई ‘अडियोटरी’ शैलीमा पढायो सिकायो भने बुझ्दैन । त्यसो हुनाले यदि बच्चा ‘भिजुअल’ हो कि ‘अडियोटरी’ वा ‘काइनेस्थेटिक’ हो भनेर थाहा छैन भने उसलाई यो तीनवटै शैली अपनाएर पढायौं भने उसले बुझिहाल्छ ।

के पढाउने भन्ने कुरा भन्दा पनि कसरी पढाउने भन्ने कुरा बढी महत्त्वपूर्ण हो । विभिन्न रिसर्चले के भन्छ भने हामीले कुनै पनि कुरा अरूलाई बुझाउन खोज्दा तीन पक्षले बढी महत्त्व राख्छ शब्द, प्रस्तुतीकरण र शारीरिक हाउभाउ ।

कुनै कुरा बुझ्न आवाजको सात प्रतिशत मात्र भूमिका हुन्छ । कुन तरिकाले प्रस्तुत गरिन्छ त्यसले ३८ प्रतिशत भूमिका खेल्छ भने शारीरिक हाउभाउले भने ५५ प्रतिशत भूमिका खेल्छ ।

कनै एउटा फिल्म हामीले दुई घण्टा हेर्दा पूरै याद हुन्छ । किनकि फिल्ममा अडियो, भिजुअल र काइनेस्थेटिक तीनवटै कुरा हुन्छन् । शिक्षकले पढाएको कुरा भने सजिलै बुझ्दैन, किनकि त्यसमा यी शैली अपनाएको हुँदैन । त्यसैले अब बालबालिकालाई विद्यालयमा पढाउँदा पनि यो अडियोटरी, भिजुअल र काइनेस्थेटिक शैली अपनाउनुपर्छ । तब हाम्रो शिक्षा पास हुने मात्र होइन, जीवनमा लागू हुने खाले हुन्छ ।

कुन उमेरमा के सिकाउने ?

अभिभावकले बालबालिकालाई कुनै पनि कुरा सिकाउने तीनवटा उमेर हुन्छ । पहिलो पाँच वर्षसम्मको उमेर, दोस्रो ६ देखि १६ वर्षको उमेर र १६ देखि २० वर्षको उमेर । पाँच वर्षमुनिको बच्चालाई कुनै पनि कुरा सिकाउँदा होस् वा अन्य समयमा शारीरिक पीडा मात्र होइन, मानसिक पीडा पनि दिनु हुँदैन । त्यो उमेर समूहका बालबालिकालाई हिर्काउने त परको कुरा आँखा तरेर पनि हेर्न मिल्दैन ।

६ देखि १६ वर्षको उमेरको बच्चा हो भने त्यो उमेरमा यो कुरा सही हो र यो कुरा गलत हो भन्ने सिकाउनुपर्छ । त्यो उमेरमा कुनै कुरा फकाएर सिकाउनुपर्छ भने कुनै कुरामा गाली पनि गर्नुपर्छ ।

१६ वर्षभन्दा माथिको बच्चा हो भने अभिभावक उसको साथी बन्नुपर्छ । नत्र उसले बाहिर साथी खोज्न थाल्छ । १६ देखि २० वर्षको उमेर एकदमै संवेदनशील उमेर हो, त्यसैले उनीहरूसँग साथीको जस्तो व्यवहार गर्नुपर्छ जसले गर्दा उसले आफ्नो सम्पूर्ण कुरा अभिभावकसँग नै सेयर गरोस् । अहिलेका अभिभावक जतिबेला साथी बन्नुपर्ने हो त्यो बन्दैनन् र जुन बेला साथी बन्नु हुँदैन त्यो बेला साथी बनिदिन्छन् । त्यसो गर्दा बालबालिकाहरू अभिभावकले भनेका कुरा नसुन्ने हुन सक्छन् । त्यसैले १६ वर्षको उमेरसम्म सही गलत सिकाउनुपर्छ भने १६ वर्षपछि उसको साथी बनिदिनुपर्छ ।

६ देखि १६ वर्षको बच्चालाई अध्यात्मसम्बन्धी ज्ञान पनि दिनुपर्छ । राम्रो कुरा सिक्नुपर्छ भन्ने विषयलाई उत्प्रेरित गर्नुपर्छ । स्वास्थ्यको विषयमा पनि बालबालिकालाई यही उमेरमा सिकाउनुपर्छ । शारीरिक स्वास्थ्य मात्र होइन मानसिक, भावनात्मक र आध्यात्मिक रूपमा पनि स्वस्थ हुनुपर्छ भन्ने कुरा पनि बच्चालाई सिकाउनुपर्छ । यही उमेरमा मानवता पनि सिकाउनुपर्छ । दान गर्न अरूलाई सहयोग गर्न सिकाउनुपर्छ ।

१६ वर्षको उमेरसम्मका बालबालिकालाई पारिवारिक दायित्वको कुरा पनि सिकाउनुपर्छ । परिवारमा उसको कर्तव्य, जिम्मेवारी पनि सिकाउनुपर्छ । त्यही उमेरमा पैसाको महत्त्व पनि सिकाउनुपर्छ ।