न्यायका पनि आफ्ना आफ्नै तर्क हुन्छन

उहिलेको कुरा हो। युनानको अदालतमा एउटा मुद्दा आयो। मुद्दाको विषय थियो – ‘यो मानिसले दुधमा पानी हालेर बेच्यो’।
दुध बेच्ने मानिस पनि कम थिएन । मनग्गे पैसा दिएर तगडा वकिल राख्यो। अदालतमा मुद्दा सुनुवाइ हुने दिन आयो। बहस सुरु भयो। वादी पक्षवालाले दुधमा पानी हालेर बेचे बापत यति जरिवाना र यति समय कैद होस् भन्ने जिकिर गर्‌यो।
आफ्नो पालो आएपछि दुधवालाको वकिलले जबर्जस्त तर्क दियो। यो मुद्दाको प्रतिवादी मेरो पक्षले दुधमा पानी मिलाएर बेचेको भन्ने आरोप सरासर झुठा हो । मेरो क्लाएन्टले त पानीमा दुध मिलाएर बेचेको हो। दुधमा पानी मिलाएर बेचे कारवाही हुन्छ। तर पानीमा दुध मिलाएर बेचे बापत कारवाही हुने कुनै कानुनी आधार नै छैन ।
न्यायधीशले दुधको परीक्षण गरायो । ७० प्रतिशत पानी देखियो । ३० प्रतिशत मात्र दुध पाईयो ।
पानीमा दुध मिलाएको ठहर भयो। दुधमा पानी मिलाएर बेचेको भए कानुनी कारवाहीको आधार थियो। तर पानीमा दुध मिलाएर बेचेबापत कार्बाही गर्ने कुनै कानुनी आधार नभएको हुँदा प्रतिवादीलाई कुनै सजाय र जरिवाना नहुने फैसला सुनाइयो।
कानुनको ब्याख्या गर्ने तरिका यस्तै हुन्छ ।

Leave a comment