अब युट्युब भिडिओ एआईले नै अन्य भाषामा डबिङ गरिदिने

अब युट्युब भिडिओ एआईले नै अन्य भाषामा डबिङ गरिदिने

गुगलले आर्टिफिसियल इन्टेलिजेन्स (एआई) को प्रयोग गरी युट्युबका भिडिओ अन्य भाषामा डबिङ गर्न सकिने फिचर ल्याउने भएको छ ।

बिहीबार आयोजित एक कार्यक्रम (भिडकन‍) मा कम्पनीले एआईद्वारा सञ्चालित डबिङ सेवा अलाउडपरीक्षण गरिरहेको र छिट्टै नै सार्वजनिक गर्ने घोषणा गरेको हो । 

कम्पनीका अनुसार यो टुलले सबैभन्दा पहिले भिडिओ ट्रान्सक्राइब (बोलिएका कुरालाई शब्दमा उतार्ने काम) गर्छ । त्यसपछि गुगलले उक्त टेक्स्ट क्रियटरलाई पठाउँछ । 

टेक्स्टलाई क्रियटरले दोहोर्‍याएर हेर्छ र शुद्ध बनाउनु पर्ने अवस्था आए शुद्ध बनाउँछ । त्यसपछि उक्त टुलले उतारिएको शब्दलाई विभिन्न भाषामा अनुवाद गर्छ ।

अनुवाद भइसकेपछि कस्तो स्वरमा अडियो प्रस्तुत गर्ने भन्ने कुरा क्रियटरले छान्न पाउँछन् । क्रियटरले यो फिचर निःशुल्क  प्रयोग पाउने कम्पनीले जनाएको छ । 

युट्युबले यो फिचर आफ्ना सयौं क्रियटरमाझ परीक्षण गरिरहेको छ । केही चर्चित क्रियटर जस्तै मिस्टर बिस्टलाई पनि कम्पनीले यो फिचर उपलब्ध गराएको छ ।

उनका प्रायः भिडिओ हिन्दी, थाई, जापानी, इन्डोनेसियाली, अरेबिक, फ्रेन्च, रुसी भाषासहित १४ भाषामा सुन्न सकिन्छ । 

यो फिचर सबै प्रयोगकर्तामाझ उपलब्ध भएपछि क्रियटरले क्षणभरमै गुणस्तरीय डबिङ गर्न सक्नेछन् । यो फिचर कस्तो होला भन्ने लागेको छ भने यहाँ क्लिक गरी अडियो डबिङ सुविधा भएको भिडिओ हेर्न सक्नुहुन्छ । 

लिङ्कमा क्लिक गरी भिडिओमा गइसकेपछि सेटिङको अप्सनमा जानुहोस् । अनि,  त्यहाँ भएको अडियो ट्रयाकको अप्सनमा जानुहोस् । र, त्यहाँ देखाइएका मध्ये आफूलाई उपयुक्त हुने भाषा छान्नुहोस् । 

सुरुवाती अवस्थामा कम्पनीले परीक्षणकालिक भिडिओमा सबै किसिमका भाषा उपलब्ध गराएको छैन । यो फिचर सबै क्रियटरले कहिले प्रयोग गर्न पाउनेछन् भन्नेबारे गुगलले कुनै जानकारी दिएको छैन ।

Leave a comment