मोटोपन भएकालाई मुटुरोगको जोखिम हुन्छ ?

मोटोपन भएकालाई मुटुरोग हुन्छ ? धेरैको मनमा उठ्ने प्रश्न हो यो । मुटुरोग विशेषज्ञ डा. राजेन्द्र कोजुको जवाफ छ, ‘जोखिम हुन्छ ।’

त्यसो भए मोटोपन र मुटुरोगसँग के सम्बन्ध छ ? दुब्लो पातलोलाई मुटुको जोखिम हुन्न ? धुलिखेल अस्पतालमा कार्यरत डा. कोजु भन्छन्, ‘मोटो भएपछि मुटुको कार्यक्षमतामा भार थपिन्छ । खासगरी शरीरमा कोलेस्टोरेलको मात्रा बढेर रगतको नसामा जम्मा हुन्छ र नसा साँघुरो बनाइदिन्छ । यसले मुटुलाई पम्प गर्न गाह्रो हुन्छ ।’

हार्वर्ड हेल्थ पब्लिसिङमा एउटा लेख प्रकाशित भएको थियो, ‘के मोटोपनसँग मुटुरोगको सम्बन्ध छ ?’ शीर्षकमा । त्यसअनुसार पेट वरपर लाग्ने बोसो स्वास्थ्यका लागि खतरा हुन सक्छ । अमेरिकन हार्ट एशोसिएसनको जर्नलले यही विषयमा एउटा अध्ययन नै गरेको थियो । बेलायतमा गरिएको उक्त अध्ययनमा ४० देखि ६९ वर्षका करिब पाँच लाख मान्छे सहभागी गराइएको थियो । सहभागीमध्ये मोटोपन भएकालाई मुटुरोग र हृदयघात भएको पाइयो । उक्त अध्ययनअनुसार हृदयघात हुनेमा पुरुषभन्दा महिला बढी थिए ।

सन् २०२० जनवरी २१ मा अर्को यस्तै अध्ययन गरिएको थियो । युरोपेली जर्नल अफ प्रिभेन्टिभ कार्डियोलोजीमा प्रकाशित उक्त अध्ययनअनुसार जसको कम्मर आसपासमा अत्यधिक बोसो जमेका छन्, उनीहरुलाई हृदयघातको खतरा हुन्छ । अध्ययनले मोटोपनले मुटुरोगको जोखिम बढाउने कुरा उल्लेख गरेको थियो ।

डा. राजेन्द्र कोजुका अनुसार मोटोपनले मुटुरोगलाई बढावा दिने गर्छ । पेट र शरीरमा जम्ने बोसोले मुटुको कार्य सञ्चालनमा अवरोध ल्याउने त छँदैछ, उच्च रक्तचाप र मधुमेहको जोखिम पनि बढाइदिन्छ । अब प्रश्न उठ्छ, के दुब्लो पातलोलाई चाहिं मुटुरोगको जोखिम हुँदैन ?

Leave a comment