थकान र मानसिक स्वास्थ्यः के हो ‘बर्नआउट’, चरम थकान कसरी थाहा पाउने, यसबाट जोगिने कसरी?

कार्यालयमा एक्लै ल्यापटपमा काम गर्दा तनावमा देखिएकी एक महिला
तस्बिरको क्याप्शन, विश्व स्वास्थ्य संगठनले बर्नआउटलाई कामको तनावसँग जोडिएको एककिसिमको लक्षण भनी व्याख्या गरेको छ

सन् १९७० को दशकको सुरुतिर तपाईँले म “बर्नआउट” बाट पीडित छु भनेको भए मानिसहरूले कुरा नबुझेर आँखीभौँ उचालेर तपाईँलाई शंकापूर्ण नजरले हेर्न सक्थे। 

त्यतिबेला लागुऔषध प्रयोगकर्ताले अनुभव गर्ने असरलाई अनौपचारिक रूपमा व्याख्या गर्न उक्त शब्दको प्रयोग गरिन्थ्यो जुन साधरणतया मानसिक अवस्थासँग सम्बन्धित थियो। 

यद्यपि, सन् १९७४ मा न्यूयोर्क सहरमा जर्मन-अमेरिकी मनोविद् हर्बर्ट फ्रोयडेनबर्गरले ‘बर्नआउटको समस्या पहिलो पटक पहिचान गरेका हुन्। 

लागुऔषधका अम्मली र घरविहीन मानिसहरूको उपचार गरिने क्लिनिकमा उनले बर्नआउटको पहिचान गरेका थिए।

क्लिनिकका स्वयंसेवीहरू पनि सङ्घर्ष गरिरहेका थिए। उनीहरूको काम सघन थियो, धेरैले काममा भावनात्मक रूपमा थकित र निरुत्साहित हुन थालेको बताएका थिए। 

कुनै बेला आफ्नो जागिर मन परेपनि पछि भने जागिरप्रति वितृष्णा पैदा भएर निन्दक बनेका थिए। 

बिरामीलाई दिनुपर्ने ध्यान उनीहरूले दिइरहेका थिएनन्। फ्रोयडेनबर्गरले यो नयाँ अवस्था ‘धेरै कामका कारण हुने थकानको अवस्था’ लाई नै “बर्नआउट” भनी व्याख्या गरेका छन्।

Leave a comment