
दादुरा एक संक्रामक रोग हो। जुन भाइरसको कारणले गर्दा हुन्छ। यो भाइरस पारा–म्याक्सो समूह अन्तर्गत पर्दछ। यो रोग कुनै पनि उमेरको मानिसलाई हुन सक्ने भएपनि पाँच वर्ष मुनिका बालबालिकामा बढी देखिन्छ। निकै संक्रामक हुनाले छिट्टै महामारीको रुप लिन सक्छ।

दादुरा सर्ने तरिका
दादुरा सामान्यतया प्रत्यक्ष सम्पर्क र हावा मार्फत सर्दछ। भाइरसले श्वासप्रश्वास नलीमा संक्रमण गर्छ र शरीरभरी फैलिन्छ। यो भाइरस मानिसमा मात्र सर्छ। हालसम्म अन्य जीवमा देखिएको छैन।
दादुराको लक्षणहरु
दादुराको पहिलो लक्षण भनेको उच्च ज्वरो हो। जुन भाइरसको सम्पर्कमा आएको १० देखि १२ दिनपछि सुरु हुन्छ र ४ देखि ७ दिनसम्म रहन्छ।
ज्वरोसँगै बिरामीको नाकबाट पानी बग्ने, खोकी लाग्ने र आँखा रातो हुने गर्छ। यस रोगमा देखापर्ने मुख्य लक्षणका आधारमा थ्रि सी डिजिज (कफ, कोर्जा र कन्जस्टीटिभ) पनि भनिन्छ। बिरामीसँग सम्पर्कमा आएको १४ दिनपछि शरीरमा बिमिराहरु देखिन्छ। पहिलो चरणमा गालाभित्र सेतो दाग देखिन्छ। त्यसपछि कानको पछाडी हुँदै अनुहार, घाँटी गर्दै हात, खुट्टा र शरीरभरी फैलिन्छ।
जटिलताहरु
गम्भीर जटिलताहरु पाँच वर्षभन्दा कम उमेरका बालबालिका वा ३० वर्ष माथिका व्यक्तिहरुमा देखिन्छ। अन्धोपन, इन्सेफलाइटिस, पखाला, कानको संक्रमण गम्भीर श्वासप्रश्वासको संक्रमण दादुरले निम्त्याउने जटिलताहरुमा पर्दछन्।
दादुरा रोगको उपचार, नियन्त्रण तथा रोकथामका उपायहरु
दादुरा भाईरसको कारणबाट हुने रोग भएकोले यसको विशेष उपचार छैन। यो अवस्थामा बिरामीमा देखा परेको चिन्ह लक्षणका आधारमा उपचार गरिन्छ। ज्वरोका लागि सिटामोल, पोषिलो खाने कुरा खुवाउने, रोग पत्ता लागेको पहिलो र दोस्रो दिन गरी दुई मात्रा भिटामिन ए क्याप्सुल खुवाउनु पर्दछ। एक जना बिरामीले १२ देखि १८ जना बालबालिकालाई सार्न सक्छ। त्यसैले बिरामीलाई अनिवार्य रुपमा अन्य बालबालिकासँगको सम्पर्कमा आउन नदिन आईसोलेसनमा राख्नुपर्दछ। बिरामीले मास्क प्रयोग गर्ने, हात धुने, व्यक्तिगत सरसफाईमा ध्यान दिनुपर्दछ। बच्चाको उमेर ९ महिना र १५ महिनाको उमेरमा एक÷एक मात्रा गरी दुई मात्रा दादुरा विरुद्धको खोप दिनु नै दादुराबाट बच्ने एक मात्र प्रभावकारी उपाय हो।