नेवारी भोजनको पारखी हुनुहुन्छ भने ‘भुटु’ त पुग्नैपर्छ । तिक्खर बफ छोयला, कचेला, भुटन, फोक्सो फ्राइ, जिब्रो फ्राइ, सुकुटी अनि धनियाँ र गोलभेंडाको अचार । त्यसमा चिउरा थपेपछि अरु के चाहियो ?
परम्परागत नेवारी मासुको यो थालीले आगन्तुकलाई तृप्त तुल्याउँछ । नेवारी मिट प्लाटर अर्थात् मासुको थाली मात्र होइन, अरु थुप्रै नेवारी स्वाद चाख्नका लागि पनि भुटु गज्जब गन्तव्य हुनसक्छ । भनिहालौं, भुटु बुटिक रेस्टुरेन्ट पुग्न तपाईंले ठमेलको चर्चित रात्रिक्लब एलओडीलाई पछ्याए हुन्छ । एलओडीको मूल गेटबाट थोरै अगाडि बढ्नासाथ भुटुको प्रवेशद्वारमै पुग्नुहुनेछ ।
‘भुटु’ खासमा नेवारी पाकशाला हो । भुटुको अर्थ नै परम्परागत नेवारी चुल्हो हो । यसका सञ्चालक राजु सिंह भन्छन्, ‘नेवारी भान्सामा जस्तै हामीले परम्परागत ढंगले विभिन्न परिकार पस्किएका छौं ।’ खासगरी नेवारी व्यन्जनमा खोकनाको तेल, घरमै पिसेको मरमसला प्रयोग गरिन्छ ।
थाहा भएकै कुरा हो, नेपालको भोजन भण्डारमा नेवारी व्यञ्जनको आफ्नो विशिष्ट स्थान छ । समयबजी, छोयला, कचिला, बारा, चटामरी, यमोरी जस्ता परम्परागत व्यञ्जन नेवारी भान्साबाट अहिले पाँचतारे होटलदेखि विश्वका कतिपय रेस्टुरेन्टसम्म फैलिसकेको छ । नुनिलो, पिरो, टर्रो, अमिलो स्वाद मिश्रित नेवारी व्यञ्जन नेपाली पाकशालाको मौलिक परिचय पनि हो ।