
एउटा प्रचलित भनाइ छ, ‘हामी जस्तो खान्छौं, त्यस्तै हुन्छौं ।’ बालबच्चाको हकमा यो कुरा अझ महत्वपूर्ण छ । बालबच्चालाई कस्तो बनाउने भन्ने कुरा त्यसैले निर्धारण गर्छ कि, हामी उनीहरुलाई कस्तो खानेकुरा खुवाउँछौं ?
बच्चाको शारीरिक र मानसिक विकास तीव्र रुपमा भइरहेको हुन्छ, जसमा खानपानको मुख्य भूमिका रहन्छ । उनीहरुलाई स्वस्थ, तन्दुरुस्त, फूर्तिलो, जाँगरिलो र सिर्जनशील बनाउन सोही अनुरुपको खानपान जरुरी हुन्छ ।
यद्यपि अहिले धेरैजसो बालबालिका जंकफुड र फास्टफुडको लतमा छन् । आफ्नै भान्साको खाना खान मन गर्दैनन् । त्यसैले त कतिपय अभिभावकले बच्चालाई विद्यालयको टिफिनमा चाउचाउ, कुरकुरे, चिप्स जस्ता खानेकुरा पठाइदिन्छन् । त्यसैगरी विद्यालयको क्यान्टिनमा मःम, चाउमिन, समोसा, चटपटे जस्ता खानेकुरा मात्र दिइने गरिन्छ । यस्ता खानेकुराले उनीहरुलाई पर्याप्त पोषण मिल्दैन, जसको असर शारीरिक र मानसिक विकासमा पर्ने नै भयो ।
हो, बच्चालाई सधैं घरको एकथरी खाना रुच्दैन । त्यसैले उनीहरुलाई सकेसम्म फरक-फरक स्वादको खानेकुरा बनाउन सकिन्छ । यस्तो गर्न त्यति झन्झटिलो र असहज पनि छैन । बालबच्चालाई खाजा नास्तामा हरेक दिन केही नयाँ खानेकुरा दिइयो भने उनीहरु खुसीसाथ खान्छन् । यसका लागि खानपानको एउटा तालिका बनाउन सकिन्छ ।
६ दिन ६ प्रकारकै परिकार बनाउन सकिन्छ, जुन पोषिलो र ताजा होस् । यी खानेकुरा कार्बोहाइड्रेट, प्रोटिन, भिटामिन, फ्याट आदि पोषकतत्वले युक्त भने हुनुपर्छ ।