घुर्ने समस्या छ ? यसरी हुन्छ उपचार
निदाएका वेला सास फेर्ने बाटो जति खुल्नुपर्ने हो, त्यति खुला भएन भने सास लिन अलि गाह्रो हुन्छ । त्यसपछि बल गरेर अक्सिजन तान्दा आउने आवाज नै घुर्ने समस्या हो ।

किन हुन्छ ?
मुख्यतः सास फेर्ने नलीमा भित्रपट्टि मासु पलाउँदा वा भित्रको मांसपेशीले काम नगर्दा घुर्ने समस्या हुन्छ । त्यसैगरी, मानिस मोटाउँदै जाँदा घाँटीमा बोसोको मात्रा बढेर सास फेर्ने ठाउँ साँघुरो हुन सक्छ र समस्या देखिन्छ ।
घुर्ने समस्या बालबालिकामा पनि हुन्छ । नाकको पछाडि भागमा हुने मासु बढ्यो भने बालबालिकामा घुर्ने समस्या देखिन सक्छ । त्यसैगरी, वयस्कहरूमा मोटोपनाका कारण यो समस्या हुन सक्छ । घुर्ने समस्याका कारण धेरै छन् । नाकको हड्डी बांगो भएमा, नाकको पछाडिको भाग सुन्निएमा, घाँटीमा टन्सिल भएमा, सास फेर्ने नली साँघुरो हुँदा घुर्ने समस्या देखिन्छ ।