प्रशंसाभन्दा आलोचनाले हामीलाई किन धेरै समयसम्म सताइरहन्छ

हामी बच्चा हुँदा हामीलाई भनिन्थ्यो- लट्ठी र ढुङ्गाले हड्डी भाँचिन सक्छ तर शब्दले भने कहिल्यै दुख्दैन।
तर अनुभव बढ्दै जाँदा यो पुरानो लोकोक्ति सत्यताभन्दा धेरै टाढा छ भन्ने वयस्कहरूले बुझ्छन्- शरीरमा लागेको चोट त केही सातामा निको हुन्छ तर नकारात्मक टिप्पणीले भने जीवनभरका लागि पीडा छोडेर जान्छ।
चाहे विद्यालयमा शिक्षकले गर्ने आलोचना होस् हो प्रेमी वा साथीले चर्को विवादका बेला गर्ने निर्मम टिप्पणी त्यसलाई हामी सकारात्मक टिप्पणीभन्दा धेरै लामो समय सम्झने गर्छौँ। त्यसलाई नेगेटिभिटी बायस अर्थात् नकारात्मक रूपमा राखिने पूर्वाग्रह भनिन्छ।
खासमा, जटिल असरहरू यही पूर्वाग्रहमार्फत् व्याख्या गर्न सकिन्छ जुन भनेको सकारात्मक भावनाभन्दा नकारात्मक भावनाले हामीलाई बढी सशक्त रूपमा असर गर्छ।