खाने कसरी ?
यस्तो छ हाम्रो खानपान शिष्टचार

बिहान उठेर नित्यकर्म गर्नेदेखि बेलुकी सुत्ने समयसम्म हामी नियममा बाँधिएका हुन्छौं । दैनिक जीवनका विभिन्न कार्य आ–आफ्नै नियम वा पद्धतिमा चलेका हुन्छन्, जसलाई शिष्टाचार पनि भनिन्छ ।
त्यसमा खानेशैली पनि पर्छ । खाना खानेशैलीले हाम्रो शिष्टाचार झल्काउँछ । तर हामीमध्ये धेरैलाई यसको आभास नभएको पनि हुन सक्छ ।
भनिन्छ, खाना खान हामीले गर्भबाटै सिकेर आएका हुन्छौं । तर कसरी खाने ? खाँदा के–के पक्षमा ध्यान दिने भन्ने बारेमा सायदैले सोच्ने गरेका छन् । हुन त व्यक्तिको खाने तरिकालाई समय, परिस्थिति र रहनसहनले पनि निर्धारण गर्छ । यसमा स्थान विशेषको पनि महत्वपूर्ण भूमिका हुन्छ ।