बेल्कुल भाइरल भेलु बाजे : टेलिफिल्मदेखि गायनसम्म

सोसल मिडियाको प्रभाव कतिसम्म छ भने दूरदराजका एक गुमनाम व्यक्ति रातारात ‘भाइरल’ हुन्छन् । युट्युब, फेसबुक र टिकटकभरि उनलाई छताछुल्ल बनाइन्छ । मानिसहरु उनको बोल्ने शैली, भाषा र हाउभाउमा यसरी रमाउँछन् कि अब उनलाई आफ्नो ढंगले बाँच्ने फुर्सद नै मिल्दैन । टिकटक बनाउनेदेखि युट्युबमा भिडियो बनाउनेहरू उनलाई पछ्याउन थाल्छन् ।
आफ्नो बोलीचाली र हाउभाउमा मान्छे किन यसरी लम्पट भएका हुन् ? सम्भवतः उनले कुनै भेउ पाएका छैनन् । उनीसँग न मोबाइल छ, न इन्टरनेट, न टिकटक एकाउन्ट । जसैजसै मान्छेहरू उनको वरिपरि झुम्मिन्छन्, उनी बेपर्वाह बोलिदिन्छन् । त्यही बोली र हाउभाउ ‘मनोरञ्जनको खुराक’ बन्छ, सामाजिक सञ्जालमा रमाउनेहरूका लागि ।
जसरी उनी ‘भाइरल’ हुँदै जान्छन्, त्यसलाई ‘क्यास’ गर्ने हतारो उत्तिकै हुन्छ । अन्ततः कोही उनलाई काठमाडौं ल्याएर अभिनय गराउने सुरसार गर्छन्, कोही गीत रेकर्ड गराउने ।